अर्जुनधारा । नारी चेतना समूह र सहनशील महिला बचत तथा ऋण सहकारी संस्था अर्जुनधारा–८को संयुक्त आयोजनामा आयोजित तीन महिने ढाकाको कपडा बुनाई तालिम सम्पन्न भएको छ ।
वडा नम्बर ८को दुई लाख र संस्थाको एक लाखसहित तीन लाख रुपैयाँको लागतमा सञ्चालन भएको उक्त तालिमको उद्देश्य स्थानीयस्तरमा रहेका महिलाहरुलाई सीप प्रदान गरी उनीहरुलाई आत्मनिर्भर बनाउने रहेको तालिमकी संयोजक पम्फा विश्वकर्माले बताइन् ।
संयोजक विश्वकर्माको अध्यक्षता र पूर्वमन्त्री केशवकुमार बुढाथोकीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा तालिमका सहभागी १६ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । सहभागीमध्ये उत्कृष्ट प्रशिक्षार्थी कमला राईलाई पुरस्कृत गरिएको कार्यक्रममा तालिमकी प्रशिक्षक बालकुमारी राईलाई सम्मानित गरिएको थियो ।
तालिमको क्रममा प्रशिक्षार्थीहरुले ढाकाको साडी, कुर्तासुरुवाल, मख्फर, सल, बर्को, चोलो, रुमाल, टोपीलगायतका सामग्रीहरु बनाएका छन् ।
प्रशिक्षार्थीद्वय प्रिया बस्नेत र रीना चौधरीले तालिमको अनुभव प्रस्तुत गरेको कार्यक्रममा वडाध्यक्ष गोपीचन्द्र गौतम, महिला तथा बालबालिका नगर शाखाका सहायक प्रमुख पवित्रादेवी बाँस्कोटा, संस्थाकी सल्लाहकार सरस्वती सिटौला गोले, ऋद्धि सिद्धी महिला कृषि सहकारी संस्थाकी अध्यक्ष कुसुम राई, मोहन पौड्यालीलगायतले बोलेका थिए ।
त्यसैगरी मातातीर्थ औंशीको सन्दर्भमा सोही कार्यक्रममा अर्जुनधारा–१ निवासी भूमीमाया श्रेष्ठलाई कपडा र खाद्यान्न सामग्रीसहित सम्मान गरिएको थियो । समूहकी मिश्राकुमारी राईले औचित्य तथा तालिमकी सहसंयोजक वीना तुलाधरले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य डम्बरकुमारी सत्यालले गरेकी थिइन् ।