माल्दिभ्स (एजेन्सी) । नेपालले साफ च्याम्पियनसिप २०२१ को आफ्नो दोस्रो खेलमा सोमबार श्रीलंकाको सामना गर्दैछ । माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज सोमबार दोस्रो खेल खेल्न लागेको हो ।

प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सलाई हराएर उत्साहित नेपाल श्रीलंकाविरुद्ध पनि जित निकाल्ने प्रयासमा हुनेछ । तर, नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आफ्ना खेलाडीलाई सावधान गरेर संयमित भएर खेल्नु पर्ने बताउँछन् ।

नेसनल स्टेडियममा आयोजित प्रि-म्याच कन्फ्रेन्समा प्रशिक्षक अल्मुताइरीले भनेका थिए, ‘श्रीलंकाविरुद्धको खेल अझ गाह्रो हुनेछ । हामीले कुनै पनि हालतमा श्रीलंकालाई सजिलो लिने छैनौं । खासमा नेपालले माल्दिभ्सविरुद्ध प्राप्त जितलाई बिर्सेर माल्दिभ्सविरुद्ध खेल्नेछ । हाम्रो लागि श्रीलंकाविरुद्धको खेल पहिलो प्रतिस्पर्धा जस्तै हुनेछ ।’

श्रीलंका आफ्नो पहिलो खेलमा बंगलादेशको हातबाट पराजित भएको थियो र नेपालविरुद्ध खेलबाट प्रतियोगिताबाट पुर्नआगमन गर्ने लक्ष्यमा हुनेछ । अल्मुताइरीले थपे, ‘श्रीलंकाविरुद्धको खेलमा हामी जितसहित तीन अंक बटुल्न सक्यौं भने पनि पक्कै खुसी हुनेछौं । तर, यो सजिलो काम होइन । हाम्रा खेलाडीले ९० मिनेट कडा संघर्ष गरेर खेल्नेछ ।’

नेपाली कप्तान किरण लिम्बूले श्रीलंकाविरुद्धको खेल नेपाली फुटबल इतिहासमै पछिल्लो समयका खेलमध्ये सर्वाधिक महत्त्वपूर्ण हुने बताए । उनले भनेका छन्, ‘नेपाल इतिहासकै सर्वाधिक महत्त्वपूर्ण खेल खेल्न गइरहेको छ र हामी त्यसमा जित निकाल्न चाहन्छौं ।’ श्रीलंकाली प्रशिक्षक आमिर एलगिचले आफ्नो टिमको तत्कालको लक्ष्य प्रतियोगितामा पुर्नआगन गर्न रहेको बताए ।

उनले भने, ‘श्रीलंका टिमलाई हामी पनि दक्षिण एसियाली फुटबलमा छौं भनेर देखाउनु छ । हामी पहिलो खेलमा पराजित रह्यौं । अब हाम्रो लक्ष्य नेपालविरुद्ध सकारात्मक नतिजा निकाल्न रहनेछ ।’

सोमबार नै दिनको पहिलो खेलमा भारत र बंगलादेश भिड्ने छन् । भारतको यो पहिलो खेल हुनेछ । खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।