झापा (एजेन्सी)। माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपाधि दाबेदार भारत बराबरीमा रोकिएको छ ।
सोमबार भएको खेलमा भारत बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएको हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा सुरुआती अग्रता जोगाउन नसक्दा भारत रोकिएको हो ।
खेलको २६औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७४औं मिनेटमा यसीन अराफतले गोल गर्दै बंगलादेशलाई हारबाट जोगाए ।
यस्तै खेलको ५४ औं मिनेटमा डिफेन्डर विश्वनाथ घोसले रातो कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो । यस बराबरीसँगै बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ । बंगलादेश शीर्ष स्थानमा रहेको छ ।
बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो । भारतले भने बराबरीबाट प्रतियोगिताको सुरुआत गरेको छ ।