झापा (एजेन्सी) । श्रीलंकाका मुख्य प्रशिक्षक अमिर अलाजिकले साफ च्याम्पियनसीपमा नेपालमात्रै बलियो टोलीका रुपमा देखिएको बताएका छन्। अमिरले नेपालको प्रदर्शन झन् हेर्यो झन् माथि हुँदै गइरहेको बताएका हुन्।
बिहीबारको खेलमा भारतसँग गोलरहित बराबरी खेलेपछि श्रीलंकाली प्रशिक्षक अमिरको यस्तो प्रतिक्रिया आएको हो । साफ च्याम्पियनको फाइनल चरणमा को पुग्छ भन्ने टुंगो लागिनसक्दा उनको प्रतिक्रिया यस्तो आएको हो । तर, फाइनल खेलमा नेपाल पुग्ने सम्भावना अधिक भएकाे छ ।
उनले फुटबलमा बलियो टिम र सन्तुलित टिमले नभएर स्मार्ट टिमले खेल जित्ने सम्भावना रहेको पनि बताएका छन् । ‘मैले १८ महिनादेखि लगाएको कडा मिहनेतको नतिजा देख्न चाहन्छु’, उनले भने, ‘फुटबलमा बलियो वा तन्दुरुस्त टोलीले हैन स्मार्ट टोलीले खेल जित्छ।’
अमिरले थपे, ‘यो प्रतियोगितामा एकमात्र टिम नेपाल हो, जुन हरेक खेलबाट माथि गइरहेको छ ।’ साफ च्याम्पियनसीपको अंक तालिकामा हाल नेपाल शीर्ष स्थानमा छ । नेपालले आफूले खेलेको २ दुबै खेलमा जित निकालेको छ।
बंगलादेशले एक खेलमा जित र एकमा बराबरी गरेको छ। भारतले भने दुई खेलमा बराबरी गरेको छ। नेपालको ६, बंगलादेशको ४ र भारतको २ अंक रहेको छ। श्रीलंकाको १ अंक छ भने माल्दिभस अंकविहीन छ।