इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको उपाधिका लागि इलाम भेट्रान्स र दार्जीलिङ भेट्रान्सले भिड्ने भएका छन् ।

 

सेमिफाइनल खेलमा इलामले सूर्योदय भेट्रान्स र दार्जीलिङले आहाले भेट्रान्सलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । पहिलो सेमीफाइनल खेलमा दार्जीलिङले आहालेलाई ९-४ गोल अन्तरले पराजित गर्दै उपाधि होडमा प्रवेश गर्न सफल रह्यो ।

 

दार्जीलिङको जीतमा राजु तामाङ र फुर्वा तामाङले समान ३-३ गोल गरे । दावा तामाङले २ र सुवास सुब्बाले १ गोल गरे । आहालेको तर्फबाट दिलकुमार राईले ४ गोल फर्काए । फाइनल प्रवेशसंगै दार्जीलिङले कम्तीमा १६ हजार रुपैयाँ सुरक्षित गरेको छ ।

 

त्यसैगरी अन्तिम सेमिफाइनल खेलमा इलामले सूर्योदयलाई १४-१ गोल अन्तरले पराजित गर्न सफल रहयो । इलामको जीतमा नगेन्द्र लिम्बूले ६ गोल गरे । रमेश गुरुङले ३, कप्तान दर्शन भक्तराज र सुरेन गुरुङले समान २÷२ तथा प्रकाश थाम्सुहाङले १ गोल गरे ।

 

सूर्योदयको तर्फबाट शरण राईले सान्त्वना गोल फर्काए । कान्दुक रिक्रिएन सेन्टरको फुटसल मैदानमा जारी प्रतियोगिताको विजेताले ३५ हजार ५ र उपबिजेताले १६ हजार ५ रुपैंयाँ पाउने छ ।