बिर्तामोड । दूधेको भूतपूर्व सैनिक संघलाई हराउँदै आयोजक बिर्तामोड भारतीय गोर्खा भूतपूर्व सैनिक संघले भूतपूर्व सैनिक गोल्डकपको उपाधि जितेको छ ।

 

प्रतियोगितको फाइनल खेलमा दूधेको माङमारी टिमलाई ३-० गोल अन्तरले पराजित गर्दै आयोजक च्याम्पियन बनेको हो । बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा दूधेमाथि आयोजक हावी भएको थियो ।

 

आयोजकका लागि खेलको ३२ औँ र ६० औँ मिनेटमा तोयाप्रसाद भूजेल र ४९ औँ मिनेटमा शेरबहादुर गुरुङले गोल गरेका थिए ।

 

आयोजकका अध्यक्ष डिके गुरुङका अनुसार भूतपूर्व सैनिकहरुबीच एकता तथा सुमधुर सम्बन्ध अझ मजबुद बनाउन बडादसैँको अवसरमा खेल आयोजना गरिएको हो ।

 

प्रतियोगिताका विजेताले नगद एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पायो भने उपविजेता टिमले ६१ हजार १११ रुपैयाँ, ट्रफी र मेडलमा चित्त बुझायो । खेलमा ६० वर्षभन्दा माथिका उच्च गोलकर्ता आयोजकका क्याप्टेन डिके गुरुङले नगद २५ हजार पाए ।

 

त्यस्तै, प्रतियोगिताका बेस्ट डिफेन्स दूधेका बुरा राई, मिडफिल्ड आयोजकका शेरबहादुर गुरुङ, फरवार्ड आयोजककै तोयाप्रसाद भूजेल र गोलकिप्पर विजेता टिमका शिवकुमार गुरुङ घोषित भए । उनीहरुले नगद पाँच/पाँच हजार पाए ।

 

विजेता तथा उपविजेतालगायतलाई झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले नगद तथा ट्रफी प्रदान गरेका थिए ।