काठमाण्डौ । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदैंछ ।

माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली आज बिहान सवा ९ बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले केही दिनपछि मात्रै नेपाल फर्कने, नफर्कने विषयमा निर्णय गर्ने बताएका छन् । नेपाल फाइनल खेलमा भारतसँग ३-० ले पराजित भएको थियो ।

नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागी प्रतियोगितामा नेपाल शीर्ष दुईमा रहँदै पहिलो पटक फाइनलमा पुगेको थियो ।

नेपालले लिग चरणमा माल्दिभ्सलाई १-० ले र श्रीलंकालाई ३-२ ले हराएको थियो भने भारतसँग १-० ले पराजित भएको थियो । बंगलादेशसँग १र१ गोलको बराबरी खेलेर फाइनल पुगेको नेपाल भारतसँग ३-० ले पराजित भएको हो ।