काठमाडौं । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएका छन् ।

 

नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी लगायतले भव्य स्वागत गरे ।

 

यस्तै फुटबल समर्थकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । साफको फाइनलमा पुगेर उपविजेता बनेको टोलीलाई सरकारका तर्फबाट के गर्न सकिन्छ मन्त्रालयले पहल गर्ने मन्त्री गहतराजले विमानस्थलमा खेलाडीलाई आश्वासन दिएका छन् ।

 

विमानस्थल पुगेका हजारौँ समर्थकले नेपाली फुटबल जिन्दावाद भन्दै नाराबाजी गरेका थिए । राष्ट्रिय टोलीको सम्मानका लागि सरकारले बाजागाजासहित विमानस्थलमा स्वागत गरेको थियो ।

 

मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।

 

फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । तर, नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।

 

पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो ।

 

लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । यस्तै भारतसँग पराजित भएको नेपालले बंगलादेशसँग बराबरी खेलेको थियो ।