काठमाडौं । उत्कृष्ट कमब्याक गर्दै झापा भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ । १-० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै झापाले नतिजा आफ्नो पोल्टामा पारेको हो ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (मंगलबार) भएको फाइनलमा झापाले एफई खुमलटार भेट्रान्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

 

झापालाई उपाधि दिलाउन दुबै गोल श्यामकुमार गोलेले गरे । खुमलटारका लागि एकमात्र गोल कप्तान नरेन्द्र लामाले गरेका थिए ।

 

पहिलो हाफमा एक गोलले पछाडि परेको झापाले दोस्रो हाफमा दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलको २७औं मिनेटमा लामाले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए ।

 

तर, झापाका गोलेले ३९औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६० मिनेट खेलाइएको फाइनल खेलको दोस्रो हाफको इन्जुरी समयमा गोलेले पुनः गोल गरेपछि झापाले उपाधिमा कब्जा जमाउन सफल भयो ।

 

दोस्रो हाफको इन्जुरी समयमा झापाका सन्तोष बस्नेतले भने रातो कार्ड खाएका थिए । प्रतियोगिताको विजेता झापाले ५ लाख तथा उपविजेता खुमलटारले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

 

व्यक्तिगत विधातर्फ झापाका श्यामकुमार गोले प्लेयर अफ द म्याच तथा प्लेयर अफ द टुर्नामेन्ट, रुपककुमार गुरुङ उत्कृष्ट गोलकिपर, भेषराज लिम्बु उत्कृष्ट मिडफिल्डर, नरेन्द्र लिम्बु उत्कृष्ट फरवार्ड तथा सन्तोष राई उत्कृष्ट प्रशिक्षक घोषित भए ।

 

खुमलटारका विनोद खड्गी उत्कृष्ट डिफेन्डर घोषित भए भने जुमानु राईले गोल्डेन बुट अवार्ड प्राप्त गरे । फुटबर्लस मिसन टुगेदरले प्रतियोगिता आयोजना गरेको थियो । खेलपाटीबाट