बल नियन्त्रण गर्ने प्रयासमा फ्रेण्डसका गोलकिपर । तस्वीरः हाम्रो खेलकुद

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल गोलरहित बराबरीमा सकिएको छ ।

 

 

शुक्रबार भएको उद्घाटनमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

 

पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड जमाएको थियो । तर, गोल निकाल्न सकेन । खेलको ३३ औं मिनेटमा सातदोबाटोका कप्तान मानबहादुर तामाङको फ्रिकिकमा आकाश बुढामगरको हेडरले पोस्टको दिशा लिन सकेन ।

 

दोस्रो हाफको सुरुआतमै सातदोबाटोका मार्टिन्स अजयीले सिक्स यार्ड बक्सबाट गोल गर्न सकेनन् । उनको हेड प्रहार बाहिरिएको थियो । ५७ औं मिनेटमा सातदोबाटोका आकाश बुढा मगरको सशक्त प्रहार फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले पन्च गर्दै बाहिर पठाए ।

 

दोस्रो हाफमा फ्रेन्ड्सले केहि सुधारिएको प्रदर्शन गर्यो । खेलको ५९ औं मिनेटमा फ्रेन्ड्सका नाथननिल गार्सियाको प्रहार पोस्ट बारमा लाग्दै फर्किएको थियो ।

 

सातदोबाटोका गोलकिपर अभिषेक बराल अघि बढेको मौकामा गार्सियाले प्रहार गरेका थिए । तर, उनी अभागी साबित भए । खेलको ६६ औं मिनेटमा फ्रेन्ड्सका गार्सियाको प्रहार सातदोबाटोका गोलकिपर अभिषेकले मुश्किलले बचाए ।

 

खेलको ७६ औं मिनेटमा फ्रेन्ड्स १० खेलाडीमा समेटियो । डिफेन्डर रोनिल एन्थोनी पाउलले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि फ्रेन्ड्स १० खेलाडीमा सिमित भएको हो । खेलको इन्जुरी समयमा सातदोबाटोले गोलको सुनौलो मौका गुमायो । उसका सुशील राईको प्रहार गोललाइन नजिकैबाट फ्रेन्ड्सका कप्तान सुरजले बचाए ।

 

यस बराबरीसँगै सातदोबाटो र फ्रेन्ड्सले पहिलो खेलमा १/१ अंक पाएको छ । लिग अन्तर्गत भोलि शनिबार दुई खेलहरु हुनेछन् ।

 

पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ । खेलपाटीबाट