झापा । झापाको शिवसताक्षी ७ मा आजदेखि सुरु प्रथम एनी फाक्तेप गोल्डकपमा मोरङको पथरी स्पोर्टिङ क्लबले विजयी सुरुवात गरेको छ ।
फाक्तेप खेल मैदानमा भएको उद्घाटन खेलमा पाहुना टोली सिन्धुलीको दुधौली स्पोर्टस क्लबलाई टाइब्रेकरमा पराजित गर्दै पथरीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । सिन्धुलीलाई ५-४ गोलअन्तरमा पथरीले पाखा लगाएको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले समान १ १ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । सुरुवाती गोल पथरीले गरे पनि दोस्रो हाफमा सिन्धुलीले गोल गर्दै खेलमा फर्किने प्रयास गरेको थियो ।

पहिलो हाफको १३औँ मिनेटमै पथरीका निरज परियारले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि पाएको अवसर खेर फाल्दा अग्रता दोब्बर बनाउन भने सकेन ।
प्रतिस्पर्धात्मक खेलमा सिन्धुलीका लागि दोस्रो हाफको २९औँ मिनेटमा कमल गाउरुङले आकर्षक गोल गरेर कम ब्याक गराए । तर, टाइब्रेकरमा सिन्धुलीकै सुबास कुमारको प्रहार बाहिरिएपछि जित सम्भव भएन । सिन्धुलीका कमल म्यान अफ दी म्याच चुनिँदै नगद ३ हजार पाउन सफल भए ।
खेलको उद्घाटन एन्फाका बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले गरेका थिए ।
फाक्तेप फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा ८ टिम सहभागी छन् । भोलि (आइतबार) जलथल एफसी हल्दिबारी र रोयल स्पोर्टिङ क्लब दमकबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार र उपविजेताले ५१ हजार र ट्रफी पाउनेछ । प्रतियोगिताको फाइनल खेल मंसिर १८ गते हुनेछ ।