काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाइरहेका १० रेफ्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) पुगेर १० रेफ्रीहरुले बिहीबार सामूहिक राजीनामा दिएका हुन् । जसमा ९ फिफा रेफ्री रहेका छन् । एन्फाका महासचिव इन्द्रमान तुलाधरले रेफ्रीहरुले राजीनामा गरेको बताए । तर, तुलाधरले राजीनामामा ६ जनाको मात्र हस्ताक्षर भएको बताए ।

 

‘१० जनाले राजीनामा पत्र बुझाउनु भएको छ । जसमा ६ जनाको मात्र हस्ताक्षर रहेको छ । यस विषयमा हामी बुझिरहेका छौँ’, महासचिव तुलाधरले भने । सहिद स्मारक ‘ए’ डिभिजन लिग चलिरहेको समय एन्फाले रेफ्रीहरुको फिटनेस टेस्ट गर्ने नियम बनाएपछि उनीहरुले राजीनामा दिएका हुन् ।

 

‘फिटनेस टेस्टबारे अध्यक्षसँग छलफल गर्न रेफ्रीहरु आउनु भएको थियो । लिगको समय उहाँहरुले टेस्ट दिन नसकिने बताउनु भएको छ । तर, अन्तराष्ट्रिय नियम अनुसार ३-३ महिनामा टेस्ट दिनुपर्ने हुन्छ । त्यसपछि उहाँहरुले पत्र छाड्नु भएको छ’, महासचिव तुलाधरले थपे ।

 

महासचिव तुलाधरले रेफ्रीको सामूहिक राजीनामाले ‘ए’ डिभिजन लिग प्रभावित नहुने बताए । ‘हामीले उहाँहरुसँग छलफल गरिरहेका छौँ । उहाँहरु आउनु हुन्छ । त्यसैले खेल प्रभावित हुँदैन । हामीसँग अन्य रेफ्रीहरु समेत हुनुहुन्छ’, तुलाधरले भने । ‘ए’ डिभिजन लिगको तेस्रो चरण भोलि शुक्रबारबाट सुरु हुँदैछ ।

 

राजीनामा दिने फिफा रेफ्रीहरुमा कबिन ब्यन्जनकार, नविन्द्र महर्जन, प्रकाशनाथ श्रेष्ठ, प्रज्वल क्षेत्री रहेका छन् भने फिफा असिस्टेन्ट रेफ्रीमा नानीराम थापा मगर, माधव खत्री, युनाल मल्ल, सहदेब श्रेष्ठ, विक्रम चौधरी र किशन यादव छन् । खेलपाटीबाट