काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार जावलाखेल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले दोस्रो जित निकालेको हो । मछिन्द्रको जितमा रंजित धिमालले एक गोल गरे । जावलाखेलका सिमान्त थापाले एक आत्मघाती गोल गरे ।
खेलको १४औं मिनेटमा जावलाखेलका सिमान्त थापाले आत्मघाती गोल गरेपछि मछिन्द्रले सुरुआती अग्रता बनाएको थियो । छिरिङ गुरुङले क्रस गरेको बल गोलकिपर टेकेन्द्र थापाले क्लियर गर्न नसक्दा सिमान्तलाई लाग्दै गोलमा परिणत भएको थियो।
जावलाखेलका निकोलस फर्नान्डेसले १९औं मिनेटमा प्रहार गरेको बल मछिन्द्रका गोलकिपर विशाल राईले मुश्किलले बचाए । त्यसको एक मिनेट नबित्दै जावलाखेलका फर्नान्डेसले गोल गरे । तर, अफसाइड रहेपछि उनको गोलले मान्यता पाए ।
खेलको २१औं मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो । डिफेन्डर रंजित धिमालले फ्रिकिकमार्फत गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा जावलाखेलका रुपबहादुर लामाले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
दोस्रो हाफमा दुबै टोलीले उलेख्य आक्रमण बुन्न सकेनन् । खेलको ७३ औं मिनेटमा मछिन्द्रका ओमोलाजा नुरेन करिमले पेनाल्टी एरियाको बाहिरबाट प्रहार गरेको फ्रिकिक जावलाखेलका गोलकिपर टेकेन्द्रले पन्च गर्दै बचाए । यस्तै ८२ औं मिनेटमा सुनिल बलले गोलको सुनौलो मौका गुमाए । पेनाल्टी एरिया भित्रबाट उनले बाहिर प्रहार गरे ।
यस जितसँगै मछिन्द्रले ३ खेलमा ७ अंक जोडेको छ । जावलाखेलको यो लगातार तेस्रो हार हो । १३ औं स्थानको जावलाखेलले अंक जोड्न सकेको छैन ।
पुलिस र हिमालयन शेर्पाको बराबरी
यसअघिकाे खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । हिमालयन शेर्पा र पुलिसले १-१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पाले बनाएको एक गोलको अग्रता उल्टाएर पुलिसले बराबरी खेलेको हो ।
खेलको ५३ सेकेण्डमा कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए । मोइनुद्दीनको पासमा पेनाल्टी एरियाको ठिक बाहिरबाट विश्वासले पोस्टको जाली चुमाए । पुलिसका मानबहादुर परियारले १४ औं मिनेटमा गोलको अवसर गुमाए । रबि पासवानको कर्नरमा सिक्स यार्ड बक्सबाट उनले बाहिर प्रहार गरे ।
दोस्रो हाफमा आक्रामक खेल पस्किएको पुलिसले ६० औं मिनेटमा बराबरी गोल फर्कायो । सुमन लामाले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा फर्काए । रबि पासवानको क्रसमा सिक्स यार्ड बक्सन अनमार्क रहेका सुमनले सहजै गोल गरे ।
खेलको ६३औं मिनेटमा पुलिसका तेज तामाङको कर्नरमा अन्जन राईको उत्कृष्ट हेडर बल हिमालयन शेर्पाका डिफेन्डर जीवन गुरुङले गोललाईनबाट क्लियर गर्दै गोल हुनबाट जोगाए । ७४ औं मिनेटमा अन्जनकै प्रहार हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीले गोललाईनबाट बचाए ।
यस बराबरीसँगै पुलिसले ३ खेलमा ५ अंक जोडेको छ । पुलिस पाँचौ स्थानमा उक्लिएको छ । हिमालयन शेर्पाले ३ खेलमा २ अंक जोडेको छ । खेलपाटीबाट