बिर्तामोड । बिर्तामोड युनाईटेड एफसी झापाको हल्दिबारीमा जारी तेस्रो नवकिरण स्पोर्टिङ हल्दिबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
पृथ्वीनगरको सिरीजंगा स्पोर्टिङ क्लबलाई ५–२ गोलअन्तरले पराजित गर्दै बिर्तामोड युनाईटेड उपाधि नजिक पुगेको हो । अब बिर्तामोड युनाईटेडले उपाधिका लागि फाइनलमा न्यू स्टार क्लब खोपबारीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आगामी शनिबार फाइनल हुनेछ ।
बिहीबार हल्दिबारी माविको खेलमैदानमा सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा बिर्तामोडको जितका लागि आशिष चापागार्इँले ह्याट्रिक पुरा गरे । खेलको ७ औँ मिनेटमा राजकुमार कन्दङ्वाको गोलबाट बिर्तामोडले खेलमा अग्रता लिएको थियो । त्यसपछि खेलको ९ औँ र २६ औँ मिनेटमा आशिष चापागाईँले गोल गरे ।
दोस्रो हाफको १२ औँ मिनेटमा तेस्रो गोल गर्दै आशिषले ह्याट्रिक पुरा गरेका थिए । सिरीजंगाका तर्फबाट पहिलो हाफको १५ औँ मिनेटमा विकास राईले गोल गरे । त्यस्तै, त्यसको २ मिनेटपछि शत्ती राईले गोल गर्दै गोलअन्तर घटाएका थिए । दोस्रो हाफको २५ औँ मिनेटमा बिर्तामोडका विकेश लिम्बुले गोल गर्दै फराकिलो अन्तरले जित शुनिश्चित गरे । शिरीजंगाले केही राम्रा अवसर पाएपनि ससदुपयोग गर्न नसक्दा उपाधि होडबाट बाहिरीनु प¥यो ।
खेलको म्यान अफ दि म्याच ह्याट्रिककर्ता बिर्तामोडका आशिष चापागाईँ घोषित भए । उनले नगद १ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

नवकिरण स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद ६० हजारसहित ट्रफी र उपविजेताले नगद ३० हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।