कुमरखोद (झापा) । प्रदेश नं. १ अन्तरपालिकास्तरीय दोस्रो अध्यक्षकप भलिवल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले रक्षा गरेको छ ।
शनिबार झापा गाउँपालिका र आमचोक गाउँपालिका भोजपुरबीच भएको फाइनल खेलमा २५-२२, २५-२३, २१-२५ र २५-१५ को सेटले हराउँदै झापा गाउँपालिका उपाधि जोगाउन सफल भएको हो । फाइनल खेलको म्यान अफ दी म्याच आमचोक भोजपुरका खेलाडी रोमन बस्नेत घोषित भए ।
त्यसैगरी प्रतियोगिताको उदीयमान खेलाडी झापाका अनिष गणेश, बेष्ट ब्लकर झापाका रोहित शिवाकोटी, वेष्ट स्पाइकर आमचोकका रोमन बस्नेत, बेस्ट सटर झापाका सागरकिरण भट्टराई, उत्कृष्ट सर्भर झापाका रोशन शिवाकोटी, बेष्ट डिफेन्स झापाका गणेश कटुवाल र म्यान अफ दी सिरिज झापाका रोहित शिवाकोटी घोषित भए ।
फाईनल खेलको विजेता टिमलाई प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह र आयोजकले संयुक्त रुपमा नगद १ लाख ५१ हजार र उपविजेता टिमलाई नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
शरणामतीको जनता माविको खेलमैदानमा संचालन भएको प्रतियोगितामा आयोजकसहित जिल्लाका १० वटा टिम र जिल्ला बाहिरका ६ वटा टिमले भाग लिएका थिए । तेजप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, स्थानीय सुरक्षा निकायका प्रमुखहरु, निर्वाचित जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।