पाँचथर । रानिटारमा जारी महिला गोल्डकप फुटबल प्रतियोगितामा आयोजक रानिटार युनाइटेड क्लब पाँचथरलाई हराउँदै धनकुटाको द सेभेन युथ क्लब फाइनल प्रवेश गरेको छ ।
बुधबार बराजु रंगशाला भएको पहिलो सेमिफाइनल खेलमा धनकुटाले पाँचथरलाई ३-१ गोल हराएको हो । वर्षाले प्रभावित बनाएको पहिलो हाफसम्म दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए ।
तर, खेलमा धनकुटाले बाजी मारेर कम्तिमा ३० हजार सुरक्षित गरेको छ । बिहानदेखि नै मौसममा आएको खराबीका कारण खेल ढिला सुरु भएको थियो । चिसोको कारण खेलाडीहरु खुलेर खेल्न सकिरहेका थिएनन् ।
खेल सुरु भएको ३ मिनेटमै धनकुटाकी सबिना तामाङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएकी थिइन् । तर, धनकुटाको अग्रता लामो समय टिक्न सकेन । आयोजक रानिटार युनाइटेडकी सामना राईले ८औं मिनेट बराबरी गोल गर्दै खेलमा फर्काएकी थिइन् ।
तर, दोश्रो हाफमा निकै आक्रामक फुटबल खेलेको धनकुटाले लगातार दुई गोल गर्दै फाइनल प्रवेश गरेको हो । दोश्रो हाफमा धनकुटाको लागि विपना राई र सुनिता तामाङले गोल गरे । पाएको केही अवसर गुमाउँदा आयोजक सेमिफाइनलबाटै बाहिरिन पुग्यो ।

उपाधि भिडन्तमा धनकुटाले भोलि बिहान हुने बिर्तामोड फुटबल क्लब र कनकाई नगरपालिकाको विजेतासंग दिउँसो प्रतिस्पर्धा गर्नेछ । आजै हुने भनिएको बिर्तामोड र कनकाईबीचको खेल वर्षाका कारण भोलि सारिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार पाउनेछ ।