पोखरा । मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । पोखरा रंगशालामा शनिबार ब्रिगेड ब्वाइज क्लबलाई १-० गोल अन्तरले हराउँदै मनाङ शीर्ष स्थानमा उक्लिएको हो ।

 

मनाङलाई जित दिलाउन कप्तान अन्जन विष्टले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । ब्रिगेड भने पेनाल्टीमा गोल गर्न नसक्दा पराजित भएको हो । ब्रिगेडका शिशिर लेखीले खेलको १७ औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् ।

 

मनाङ आदित्य चौधरीले पेनाल्टी बक्समा लेखीलाई लडाएपछि पाएको पेनाल्टी अवसरमा उनले पोस्ट भन्दा माथि प्रहार गरे । यस जितसँगै मनाङले एएफसी कप छनोट खेल्ने सम्भावना कायम राखेको छ ।

 

तर, मनाङले एएफसी कपका लागि आइतबार हुने नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीचको खेल कुर्नु पर्नेछ।

 

शीर्ष स्थानमा उक्लिएको मनाङले ७ खेलमा १६ अंक जोडेको छ । एक खेल कम खेलेको मछिन्द्रको १४ अंक रहेको छ । ब्रिगेडले ७ खेलमा ५ अंक जोडेको छ । ब्रिगेड १२ औं स्थानमा रहेको छ ।

 

यसैबीच, शनिबार नै भएको खेलमा थ्री स्टारले जवालाखेल युथ क्लबलाई २-१ गोल अन्तरले हराएको छ ।

 

 

थ्री स्टारलाई जित दिलाउन आयुष घलान र ऋतिक कुमार खड्काले एक एक गोल गरे। जावलाखेलका निकोलस फर्नान्डेसले एक गोल फर्काए ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको सातौं मिनेटमा आयुषले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा ऋतिकले गोल गर्दै पहिलो हाफमा थ्री स्टारलाई २-० को अग्रता दिलाएका हुन् ।

 

दोस्रो हाफमा जवालाखेलले एक गोल फर्कायो । निकोलसले ५५ औं मिनेटमा गोल गर्दै जावलाखेललाई २-१ को स्थितिमा ल्याए । त्यसपछि दुबै टोलीले थप गोल निकाल्न सकेनन् ।

 

थ्री स्टारको दोस्रो जित हो । यस जितसँगै लिगको पाँचौं स्थानमा उक्लिएको छ । थ्री स्टारले ७ खेलमा १० अंक जोडेको छ । जावलाखेलले ७ खेलमा ७ अंक जोडेको छ । जावलाखेल नवौं स्थानमा रहेको छ ।

 

थ्री स्टारका कप्तान बिक्रम लामा म्यान अफ दि म्याच चुनिए । इमर्जिङ प्लेयर ऋतिक खड्का बने ।