काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाले जित निकालेको छ । सोमबार भएको खेलमा शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।

 

शेर्पालाई जित दिलाउन कप्तान विश्वास श्रेष्ठले निर्णायक गोल गरे । खेलको ४५औं मिनेटमा विश्वासले पेनाल्टीमा गोल गरेका हुन् । सातदोबाटोका पिटर सेगुनले पेनाल्टी क्षेत्रमा त्रिदेब गुरुङलाई फउल गरेपछि शेर्पाले पेनाल्टीको अवसर पाएको थियो । जसमा विश्वासले सहजै गोल गरे ।

 

यस्तै खेलको इन्जुरी समयमा सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । तर, सातदोबाटोका मार्टिन सिलोले पेनाल्टीमा गोल गर्न सकेनन् । शेर्पाका जीवन गुरुङले पेनाल्टी एरिया भित्र मार्टिनलाई फउल गरेपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो। तर, मार्टिनको प्रहार शेर्पाका गोलकिपर दीप कार्कीले बचाए ।

 

यस जितसँगै शेर्पाले ७ खेलमा ११ अंक जोडेको छ । शेर्पा पाँचौं स्थानमा उक्लिएको छ । सातदोबाटोले ७ खेलमा ८ अंक जोडेको छ । सातदोबाटो आठौं स्थानमा रहेको छ ।

 

शेर्पाका विश्वास प्लेयर अफ दि म्याच चुनिए । इमर्जिङ प्लेयर शेर्पाकै दीप चुनिए । खेलपाटीबाट