काठमाडौं । नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित अवार्ड एनएसजेएफ स्पोर्टस अवार्ड २०७५ असार १७ गते आयोजना हुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक बर्ष आयोजना गर्ने अवार्डको १५ औ संस्करण असारको तेस्रो साता आयोजना हुने पक्का भएको हो । अध्यक्ष दुर्गानाथ सुबेदीको अध्यक्षतामा शुक्रबार बसेको मञ्चको कार्यसमिति बैठकले अवार्डको मिति तय गरेको हो ।
नेपाली खेलकुदको बहुप्रतिक्षित अवार्ड कार्यक्रममा विभिन्न ८ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिदै आएको छ । २०५४ सालमा बर्षका उत्कृष्ट पुरुष र महिला खेलाडीलाई सम्मान गरेर सुरु भएको एनएसजेएफ स्पोर्टस नेपाली खेलकुद क्षेत्रकै सर्वोकृष्ट अवार्ड कार्यक्रमको रुपमा स्थापित छ ।
अवार्डलाई अन्तराष्ट्रिय स्तरमा समेत एआइपीएस एसियाले समेत बार्षिक कार्यक्रमको रुपमा समावेश गरेको छ । खेलाडीले बर्षभरि गरेको प्रर्दशन र नतिजाका आधारमा अवार्ड प्रदान गरिदै आएको छ । मुलधारका सञ्चारमाध्यममा बसेर कलम चलाउँदै आएका पत्रकारको खेलाडीको प्रर्दशनको मुल्याङन गरि पुरस्कृत गर्ने गरेका छन् ।
खेलकुद क्षेत्रको बहुप्रतिक्षित अवार्ड कार्यक्रमलाई यस बर्ष समेत भब्यरुपमा आयोजना गर्ने लक्ष्यका साथ मिति तय गरिएको मञ्चका अध्यक्ष सुबेदीले बताएका छन् ।