काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरले लामो समयपछि मैदान फर्किन पाउँदा निकै खुसी लागेको बताएका छन् । आज बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै विमलले नेपालको जर्सी लगाएर राष्ट्रिय गान गाउन पाउँदाको क्षणलाई अरू कुनै कुरासँग तुलना गर्न नसक्ने बताएका हुन् ।

 

उनले लेखेका छन्, ‘निकै लामो समय प्रत्यक्षरूपमा मैदानभित्र नरहँदा पनि भावनात्मक रूपमा राष्ट्रप्रति सदैव आफ्नो शतप्रतिशत साथ रहिरह्यो । उतारचढावपछि शारीरिक, मानसिक रूपमा सबल भइ मैदानमा नेपालको झन्डा अङ्कित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षणलाई म अरू कुनै कुरासँग तुलना गर्न सक्दिनँ !’

 

विमलले टिमको साथ, दर्शकको माया र प्रशिक्षकको विश्वासलाई आत्मसात् गर्दै आउँदा दिनमा पनि नेपालीमा खुसी बाँड्न सधैँ तत्पर हुने बताएका छन् ।

 

 

झन्डै दुई वर्षपछि मैदान प्रवेश गरेका विमलले आफ्नो पुनरागमनलाई यसरी जनाएका छन्, ‘सायद सूर्य अस्ताउने भनेकै भोलि उदाउनको लागि हो !’ अफ्रिकी देशसँगको मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा विमलले गोल गर्दै टोलीलाई जिताएका थिए ।