काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले पहिलो जित निकालेको छ । शुक्रबार भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५-२ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले पहिलो जित निकालेको हो ।

 

दोस्रो खेलमा त्रिुभवन आर्मी एफसी र जावलाखेल युथ क्लबले समान १-१ गोलको बराबरी खेलेका छन् । रोमान्चक खेलको इन्जुरी समयमा आर्मी हारबाट जोगिएको हो भने जावलाखेल २ अंक गुमाउन बाध्य बन्याे ।

 

फ्रेन्ड्सको पहिलो जितमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई-दुई गोल गरे । श्याम बाबु केप्छ्याकीले एक गोल थपे । ब्रिगेडका ड्याडी जुनियर वाम्बा र अनिल गुरुङले एक एक गोल फर्काए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको १४ औं मिनेटमा सुशीलले फ्रिकिकमार्फत गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

 

तर, खेलको २५ औं मिनेटमा ड्याडीले फ्रिकिक मार्फत गोल गर्दै ब्रिगेडलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको २७ औं मिनेटमा श्यामले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को अग्रता दिलाए ।

 

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा जमउलले गोल गर्दै फ्रेन्ड्सलाई ३-१ को अग्रता दिलाए । निशेन सुब्बाको फ्रि(किकमा उनले हेडर मार्फत गोल गरे । ७६ औं मिनेटमा जमउलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ४-१ को अग्रता दिलाए ।

 

खेलको ७८ औं मिनेटमा सुशीलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ५-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८६ औं मिनेटमा ब्रिगेडका अनिलले पेनाल्टीमा गोल गरे पनि फ्रेन्ड्स ५-२ ले विजयी भयो ।

 

अनिलले करिब आठ वर्षपछि लिगमा गोल गरेका हुन् । पछिल्लो पटक अनिलले २०७० को फागुन १७ गते थ्री स्टारविरुद्ध गोल गरेका थिए । त्यस बाहेक दुबै टोलीले पाएको थुप्रै मौका गुमायो ।

 

दोस्रो खेलमा जावलाखेल युथ क्लबले खेलको ५३औँ मिनेटमा गोल गरेर अग्रता लिए पनि अन्तिम केही सेकेन्ड सम्हालिन नसक्दा आर्मीसँग अंक बाँड्न बाध्य बन्यो । थपिएको ७ मिनेटको इन्जुरी समयको केही सेकेन्डमा आर्मीले गोल गरेको थियो ।

 

१-० गोलले जावलाखेलले खेल जित्ने निश्चित भइसकेको अवस्थामा आर्मी खेलमा फर्कियो । जावलाखेलका लागि ओन्गुना जुनियरले गोल गरेका थिए । यस्तै, आर्मीका लागि सुमन अर्यालले गोल गरेर टिमलाई हारबाट जोगाए । ३ अंकको नजिक पुगेको जावलाखेल १ अंकमा चित्त बुझाउन बाध्य बन्यो ।