झापा । चारदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक ओमानमाथि ६ विकेटको जित हात पारेको छ । दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानमाथि कीर्तिमानी जित हात पारेको हो ।

 

अल अमेरात क्रिकेट ग्राउन्डमा १ सय ३६ रनको लक्ष्य नेपालले निर्धारित २० ओभरको खेलमा ३ बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दिपेन्द्रले ५३ बल खेल्दा ८ चौका र एक छक्का हिर्काए ।

 

दिपेन्द्रको टी-ट्वान्टीमा सर्वाधिक रन हो । यस अघि उनले ६० रन बनाएका थिए । आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदिप ऐरीले ४ रन तथा शरद भेषावकरले जोडे । ओमानका कलिमुल्लाहले २ विकेट लिए । खवार अलीले १ विकेट हात पारे ।

 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन जोड्यो । ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रनको योगदान गरे । ९ दशमबल ३ ओभरमा ४ विकेट गुमाएर ५८ रन बनाएको ओमानको इनिङ्स उकास्न जिसन र मोहमदले पाँचौ विकेटका लागि ६१ रनको साझेदारी गरे ।

 

जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे । नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखले एक-एक विकेट हात पारे । चार देश सम्मिलित सिरिजमा नेपालले शनिबार युएईसँग खेल्नेछ ।