इलाम । आयोजक युनाइटेड देउमाई युथ क्लबलाई पराजित गर्दै हेलिबोथ एफसी इलाम यहाँ जारी प्रथम देउमाई गोल्डकपको समिफाइनलमा प्रवेश गरेको छ ।
स्थानीय भानुभक्त माविको छात्रावास खेलमैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा टाइब्रेकरमा पराजित गर्दै हेलिबोथले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलमो निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।
टाइब्रेकरमा ३-१ गोलअन्तरले आयोजकलाई पराजित गर्दै हेलिबोथ विजयी भएको हो । हेलिबोथका लागि खेलको ११औँ मिनेटमा दिवस राईले गोल गरेका थिए । लगत्तै आयोजकका लागि हेमसागर राईको प्रहारलाई गोल पोस्ट नजिकै अनमार्क रहेका रोहित राई सिधै हातले रोकेपछि रेड कार्ड पाउँदै हेलिबोथ १० खेलाडीमा सीमित बन्न पुगेको थियो ।
आयोजकले पाएको पेनाल्टी प्रहारमा हेमसागर राई चुकेपछि खेलमा फर्किन खेलको अन्तिम समय पर्खिनु परेको थियो । इन्जुरी समयमा सम्हालिन नसक्दा होलिबोथले जित निकाल्न टाइब्रकेरको सहारा लिनु पर्यो ।

आयोजकका लागि इन्जुरी समयमा प्रविन राईले गोल गरेका थिए । तर, टाइब्रेकरमा आयोजकका खेलाडीले १ गोलमात्र गर्न सफल भए भने हेलिबोथका ३ खेलाडीले गोल गरे । खेलको म्यान अफ दी म्याच हेलिबोथका गोलरक्षक पुजन गुरुङ घोषित भए ।
८ टिम सहभागी प्रतियोगितामा मंगलबार पाँचथरको फिदिम स्पोर्टिङ क्लब र मोरङको डाँगीहाट एफसीबीच खेल हुनेछ । फागुन १४ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख पाउनेछ ।