बिर्तामोड । झापा गोल्डकपको फाइनल खेल आज तीन पटकको च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब र झापा ११ फुटबल क्लबबीच हुँदैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा दिउँसो २ः३० बजे खेल हुनेछ ।
दुवै टिमले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् । झापा ११ पाँचौपटक फाइनलमा पुग्ने पहिलो टोली हो । तर, अहिलेसम्म उपाधि रक्षा गर्न भने सकेको छैन । आर्मीले पहिलो, तेस्रो र चौँथो संस्करणको उपाधि हत्याइसकेको छ । चौँथापटकका लागि इतिहास रच्ने दाउमा फेरि आर्मी छ ।
आर्मीसँगको चौँथो भेटमा झापाले इतिहास उल्टाउने दाउ छ । दोस्रो संस्करणमा पनि मनाङ मस्र्याङ्दी क्लबसँग पराजित भएको झापाले राष्ट्रिय खेलाडी विशाल राईलाई पहिलोपल्ट झापा ११ को जर्सीमा कप्तानीको जिम्मेवारी दिएपछि केही आशा सिर्जना भएको छ ।
झापाले सेमिफाइनलमा संकटालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरेका छन् ।
झापा ११ का प्रशिक्षक सन्तोष गुरुङले झापामा स्टार खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए । उनले चार पटकसम्म झापाले उपविजेतामा चित्त बुझाएकाले यसपटक जित निकाल्ने बताए ।
पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् ।
उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।
त्यस्तै, झापा गोल्डकपले यसपटक झापा ११ का खेलाडी विशाल राई ‘ए’लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइने भएको छ । उनले एक थान मोटरसाइकल पाउने आयोजक समिति अध्यक्ष बस्नेतले बताए ।