झापा । सर्लाहीको बागमती युथ क्लब झापाको दमकमा आजदेखि सुरु दमक गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आयोजक दमक ११ लाई पराजित गर्दै बागमतीले विजयी सुरुवात गरेको हो ।
बागमतीका लागि खेलको ८८औँ मिनेटमा अनिल राना मगरले पेनाल्टीमार्फत गोल गरे । बागमतीका जोमुलमाथि फाउल गरेपछि बागमतीले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै बागमतीले पहिलो खेलमा विजयी सुरुवात गरेको हो ।
घरेलु दर्शकको साथ पाएको दमकले पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, स्कोर निकाल्न नसक्दा दमक पराजित हुन पुग्यो । खेलको म्यान अफ दी म्याच विजयी टोली बागमतीका गोलरक्षक मनोज प्रधान भए । उनले दश हजार नगद पुरस्कार पाए ।
प्रतियोगितामा चारवटा विदेशी टोलीसहित दश टोलीको सहभागिता छ । बिहीबारको खेल दुर्गापुर सन्डे कोलाकाता भारत र गोर्खाब्याइज रुपन्देहीबीच हुनेछ ।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने खेल संयोजक मोहन मगरले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य अर्जुन राईले गरेका थिए । १८ गतेसम्म चल्ने प्रतियोगिताको समापन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ ।