बारा । एनआरटीले शनिबार जगदम्बा १२औं जितपुरसिमरा गोल्डकप फुटबलको उपाधि उचालेको छ । सिमरा रंगशालामा न्युरोड टिम (एनआरटी) विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ५-० को फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो ।

 

एनआरटीलाई उपाधि दिलाउनेक्रममा मेसुके ओलोमाइ र स्टेफेन समीरले २-२ गोल तथा दीपेश घलेले एक गोल गरेका थिए । एनआरटीका लागि यो उपाधि सिजनकै पहिलो हो । एनआरटीले २०६४ सालमा बुढासुब्बा गोल्डकप जितेयता पहिलो पटक नकआउट प्रतियोगिता जितेको हो ।

 

प्रतिस्पर्धात्मक पहिलो हाफको इन्ज्युरी समयमा गोलको खाता खोलेको एनआरटीले दोस्रो हाफमा चार गोल थपेको थियो । मेसुकेले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए । दीपेश धिमालले विशाल घलानलाई लडाएपछि प्राप्त फ्रिकिकमा मेसुकेले मध्यान्तर हुनैलाग्दा गोल गरेका थिए ।

 

विजेता एनआरटीले १० लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको एपीएफको भागमा ५ लाख पर्‍यो । सर्वोत्कृष्ट खेलाडी एनआरटीका मेसुके चुनिए । उनले एक थान बेनेली मोटरसाइकल प्राप्त गरे । विधागत पुरस्कारतर्फ पनि एनआरटी हाबी भयो ।

 

उत्कृष्ट गोलरक्षक प्रदीप भण्डारी, उत्कृष्ट मिडफिल्डर अशोक थापा, उत्कृष्ट फरवार्ड स्टेफेन समीर र उत्कृष्ट प्रशिक्षक राजुकाजी शाक्य घोषित भए । उनीहरू सबै एनआरटीका हुन् ।

 

उत्कृष्ट डिफेन्सको उपाधि एपीएफका राजन गुरुङले प्राप्त गरे भने ६ गोल गरेका स्टेफेन समीरले सर्वाधिक गोलकर्ताको पुरस्कार पनि पाए । उदीयमान खेलाडी आयोजक नव जनजागृति युवा क्लबका सागर चौलागाईं भए । फेयर प्लेको ट्रफी विजय युथ क्लब हेटौंडाले प्राप्त गर्‍यो ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्सको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा ए डिभिजनका ५ र मोफसलका ५ टिमको सहभागिता थियो । इकान्तिपुरबाट