तेह्रथुम । ऐतिहासिक आठराई मदन मेलामा आयोजित मदन मेमोरियल फुटबल प्रतियोगितामा आइतबार भएको खेलमा पुरुषतर्फ गिरी समाज खाम्लालुङ, लिसिबुङ र ग्रामीण विकास खाम्लालुङ विजयी भए । यस्तै, महिलातर्फ ताप्लेजुङ र खाम्लालुङ विजयी भएक छन् ।
त्रि-मोहन माविको खेलमैदानमा आयोजित पुरुषतर्फको पहिलो खेलमा लिसिबुङ सक्रान्तिले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई २-१ गोलमा पराजित गर्यो । संक्रान्तिका लागि सुन्दर लिम्बू र रोशन लिम्बूले गोल गरे भने फिदिमका लागि मिहाङ नेम्वाङले एक गोल फर्काए । खेलमा लिसिबुङका सुन्दर लिम्बूले रेड कार्ड पाए ।
दोस्रो खेलमा ग्रामीण विकास खाम्लालुङले सिटिइभिटी प्राविधिक कलेजलाई ७-० गोलको फराकिलो अन्तरले पराजित गर्यो । खाम्लालुङका युवराज लावुङले एक्लै ४ गोल गरे भने सन्देश लिम्बू, अनुप सेन्दाङ र आशिष लिम्बूले १-१ गोल गरेर फराकिलो नतिजाबाट टोलीलाई जिताए ।
यस्तै, गिरी विकास युवा समाज खाम्लालुङले मदन मेला आयोजक समितिलाई २-१ गोल अन्तरले पराजित गर्यो । खाम्लालुङका लागि सन्तु फोम्बो र दिवस लिम्बूले गोल गरे भने आयोजकका तर्फबाट सुसन लिम्बूले गोल गरेका थिए ।
महिलातर्फ ताप्लेजुङ र खाम्लालुङ विजयी
यसैगरी, महिलातर्फ भएको खेलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लब र आठराईको खाम्लालुङ छोटी बजार विजयी भए ।

पहिलो खेलमा ताप्लेजुङले बुढानिलकण्ठ लिसिबुङलाई ३-० गोलले पराजित गर्यो । ताप्लेजुङका लागि सिञ्जता गुरूङ, कुमारी शेर्पा र सनम राईले गोल गरेका थिए ।
यस्तै, अर्को खेलमा आठराईको खाम्लालुङ छोटी बजारले पोखरी माविको टिमलाई ३-१ गोलअन्तरले पराजित गर्यो । जसमा खाम्लालुङका लागि जमुना खवास, अस्मिता लिम्बू र सुस्मिता राईले गोल गरिन् भने पोखरी माविका लागि करिना खवासले सान्त्वना गोल गरिन् ।
८ टिम सहभागी महिलातर्फको विजेता टोलीले नगद ६५ हजार र उपविजेता टोलीले नगद ४० हजार पाउने छ । यस्तै, १८ वटा टिम सहभागी पुरुषतर्फको विजेताले नगद १ लाख ३५ हजार पाउनेछ भने उपविजेता टोलीले ७५ हजारमा चित्त बुझाउनु पर्नेछ । ऐतिहासिक मदन मेला २०१५ सालदेखि लाग्दै आएको छ ।