इलाम । झापाको सताक्षीधाम स्पोर्टिङ क्लब इलामको फाकफोकथुम ४ स्थित फुएतप्पामा जारी दोस्रो त्रिवेणी आमन्त्रित गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

स्थानीय विष्णु माविको खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा इलामको ओएसिस एफसीलाई ३-० गोलअन्तरले पराजित गर्दै झापाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

 

झापाका लागि प्रशान्त राईले व्यक्तिगत २ गोल गरे भने देव मल्लिकको नाममा १ गोल रह्यो । मल्लिकले पेनाल्टीमार्फत गोल गरेका हुन् । झापाका २ गोल गरेका प्रशान्त म्यान अफ दी म्याच घोषितहुँदै नगद २ हजार पाउन सफल भए ।

 

खेलको अन्त्यतिर इलामका जनक मैनाली रेड कार्ड पाउँदै मैदान बाहिरिए । इलामका गोलरक्षक प्रवेश श्रेष्ठ बिट भएको बेला झापाका खेलाडीको प्रहारलाई सोझै हातले रोकेपछि उनले रेड कार्ड पाएका थिए ।

 

त्रिवेणी युवा विकास संस्था फुएतप्पाले आयोजना गरेको गोल्डकपको विजेताले २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी पाउनेछ । भोलि शनिबार लेटाङ एफसी मोरङ र आयोजक क्लब इलामबीच खेल हुनेछ ।