काठमाडौं । झापा फुटबल क्लब सी डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा सोमबार भएको खेलमा स्पोर्ट्स एकेडेमी संघलाई १-० गोल अन्तरले पराजित गर्दै झापा शीर्ष स्थानमा उक्लिएको हो ।

 

झापाको जितमा विशाल तामाङले गरेको १ मात्र गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८६ औं मिनटमा विशालले गोल गर्दै झापाको जित निश्चित गराएका हुन् ।

 

यस जितसँगै शीर्ष स्थानमा उक्लिएको झापाले ७ खेलबाट १९ अंक जोडेको छ । यता पराजित स्पोर्ट्स एकेडेमीले समान खेलबाट ५ अंक जोडेको छ । उ तालिकाको ११ औं स्थानमा रहेको छ ।

 

जारी लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेको छ । लिगको समाप्तीपछि शीर्ष स्थानमा रहने दुई टोली बी डिभिजन लिगमा बढुवा हँदा पुछारका दुई टोली रेलिगेशनमा पर्नेछन् ।