झापा (एजेन्सी) । घरेलु टोली केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीविरुद्धको दोस्रो टी–ट्वान्टी खेलमा जित निकालेको छ । शुक्रबार भएको खेलमा केन्याले नेपाललाई १८ रनले हराएको हो ।

 

नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १३३ लनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सम्पूर्ण विकेट घुमाउँदै मात्र ११४ रन बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । आदील अन्सारी र रोहित पौडेलले २०-२० रनको योगदान गरे । त्यस्तै पवन सर्राफ १९ रनमा आउट भए । कप्तान सन्दीप लामिछानेले ८ रन जोडे । केन्याका इमानुएल बुन्डी, लुकास औचा र भिराज पटेलले २, २ विकेट लिए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनायो । केन्याका लागि राकेप पटेल ३५ रनको योगदान गरे । त्यस्तै नेहिमा ओडिम्बोले २९ रन बनाउँदा इर्फान करिम २२ रन बनाए । बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान तीन-तीन विकेट लिए । त्यस्तै करण केसीले दुई विकेट लिँदा पवन सरार्फले एक विकेट लिए ।

 

यो जितसँगै केन्याले सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । पाँच खेलको टी–ट्वान्टी सिरिजको तेस्रो खेल भदौ १२ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ ।