इलाम । इलाममा खेलाडीले प्रशिक्षण गर्ने ब्यवस्थित कबर्ड हल नहुँदा समस्या भएको छ । जिल्लामा कोठा बाहिर मैदानमा खेलिने खेल र कोठाभित्र खेलिने खेलका लागि ब्यवस्थित संरचना नहुँदा समस्या भएको हो ।
कबर्ड हल अभावकै कारण मार्सल आर्ट सम्बन्धिका ४ खेलहरु (तेक्वान्दो, कराते, उसु र बक्सिङ) जिल्ला खेलकुद विकास समिति कार्यालयको सानो हलभित्र एकैचोटि खेल्नुपर्ने बाध्यता खेलाडी र खेलाउनुपर्ने बाध्यता प्रशिक्षकलाई छ।
कबर्ड हल अभावकै कारण मार्सल आर्टका खेलाडीहरु खुला चौरमा प्रशिक्षण गर्न बाध्य छन् । खुला चौरमा प्रशिक्षण गर्दा खेलाडीलाई थप असर पर्ने गर्छ । यस किसिमको प्रशिक्षणबाट नतिजा आउन गाह्रो हुने खेलाडी बताउँछन् ।
खुला चौरमा गरिएको प्रशिक्षणबाट कुनै पनि प्रतियोगिता खेल्दा समस्या हुने गरेको उनीहरुको अनुभव छ । प्रतियोगितामा कबर्ड हलसँगै म्याट्समा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले सोचेअनुरुप नतिजा नआउने खेलाडीहरु बताउँछन् ।
जिल्ला सदरमुकामसहित जिल्लाका १० वटै पालिकामा केही न केही प्रयोजनका लागि करोडौं लगानीका भवनहरु बनेका छन् । तर, स्थानीय सरकारले ५ वर्षमा खेलाडीलाई चाहिने आवश्यक पूर्वाधारमा खर्च नगरेको पाइएको छ । खेलाडी र प्रशिक्षकले तीन दशकदेखि सुविधा सम्पन्न कवर्ड हलको माग गरे पनि अहिलेसम्म माग पूरा भएको छैन ।
यसैगरी, क्रिकेट र फुटबल खेलको लागि मैदान अभाव भएको छ । भलिबल र बास्केटबलका लागि कोर्ट पनि अभाव भएको छ । जिल्लाकै एकमात्र ठूलो खेल मैदान समेत जीर्ण बनेको छ । विगतका राष्ट्रिय प्रतियोगितामा विभिन्न खेलका खेलाडीले पदक जितेका छन्। तर, उचित प्रशिक्षणका लागि आवश्यक पूर्वाधार अभावकै कारण पदक जितेका धेरै खेलाडीहरु खेल क्षेत्रबाट पलायन भइसकेका छन् । इमेज खबरबाट