शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित कालिस्थान माविको खेलमैदानमा जारी एन्फा रेफ्री स्व खेम तामाङ स्मृृति फुटबल प्रतियोगितामा आज फाइनल भिडन्त हुँदैछ । उपाधि भिडन्तका लागि चिरपरिचित प्रतिद्वन्द्वी शनिश्चरे एफसी र आयोजक मनास्लु युथ क्लब कालिस्थान आमने सामने हुनेछन् ।

 

शनिबारको खेलबाट आयोजक मनास्लु युथ क्लब फाइनलमा प्रवेश गरेको थियो । बिर्तामोड युनाइटेड क्लब बिर्तामोडलाई ३-१ गोलले पराजित गर्दै आयोजक मनास्लुले फाइनलमा स्थान सुरक्षित गरेको हो । आयोजकका लागि विशाल दर्जी, राजेश दाहाल र रोशन मगरले गोल गरे भने बिर्तामोडका सूर्य टुडुले एक गोल फर्काए ।

 

यस्तै, शुक्रबारको खेलबाट शनिश्चरे एफसी फाइनलमा प्रवेश गरेको थियो । शनिश्चरेका निखिल तामाङको ह्याट्रिकसँगै फाइनलमा स्थान पक्का गरेको हो ।

 

पहिलो सेमिफाइनलमा कप्तान कर्ण लिम्बू नेतृत्वका ब्रदर्श युनाइटेड क्लब चन्द्रगढीलाई ४-१ गोलले पराजित गर्दै शनिश्चरेले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

 

प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार पाउनेछ । त्यस्तै, ५ विधाका खेलाडीले जनही २ हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याच बन्ने खेलाडीले नगद १५ सय पाउने छन् ।

 

२०२३ साल फागुन ३ गते जन्मिएका एन्फा रेफ्री स्व खेम तामाङको गत जेठ १२ गते निधन भएको थियो । उनै एन्फा रेफ्री तामाङको स्मृतिमा स्थानीय मनास्लु युथ क्लबद्वारा आयोजित प्रतियोगितामा झापा जिल्ला रेफ्री संघ तथा झापा जिल्ला फुटबल संघको प्रत्यक्ष सहयोग रहेको छ ।