झापा । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले डबल लिगका आधारमा हुने ‘ए’ डिभिजन लिग आउँदो पुस २६ गतेदेखि जेठ २० गतेसम्म हुने जनाएको छ ।

 

हिजो भएको छलफलमा पुस २६ गतेदेखि लिग सुरु गर्न क्लबहरु सहमत भएको एन्फाले जनाएको छ । यस्तै एन्फाले क्लबलाई उपलब्ध गराउँदै आएको तयारी खर्चमा १० लाख रुपैयाँले वृद्धि गरेको छ ।

 

एन्फाले अब लिगको तयारीका लागि ‘ए’ डिभिजनका हरेक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ । क्लबको तयारी खर्च बढाए पनि पुरस्कार रकम यथावत् छ ।

 

लिगको विजेताले ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पुर्राईएको छ ।

 

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

 

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।