शनिश्चरे । झापाको अर्जुनधारामा जारी दोस्रो नमुना च्यालेन्ज कप फुटबल प्रतियोगितामा आज नेपाल भ्रमणमा रहेको भुटनिज युथ स्पोर्टस् क्लब (बीवाईएससी)अमेरिका र ललितपुरको सुनाकोठी सिटी एफसी आमने सामने हुँदैछन् ।

 

अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आयोजित प्रतियोगितामा दुवै टोलीले आज हुने अन्तिम सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यसअघि बीवाईएससीले इलामको रेडहर्ष एफसीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । उसले टाइब्रेकरमा ४-३ गोलअन्तरको साँघुरो जित निकालेको थियो ।

 

यस्तै, पहिलो खेलमा ललितपुरले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबलाई पराजित गरेर सेमिफाइनल पुग्ने पहिलो टोली बनेको थियो । ललितपुरले ३-० गोलको सहज जित निकालेर दमकलाई स्तब्ध बनाएको थियो ।

 

आज ललितपुर र बीवाईएससी उपाधिका दाबेदार हुन् । हिजो भएको पहिलो सेमिफाइनल खेलबाट जित निकाल्दै आयोजक नमुना एफसी फाइनल प्रवेश गरिसकेको छ । एन्फा एकाडेमी धरानमाथि २-० गोलको नतिजा निकालेर आयोजक फाइनल प्रवेश गरेको हो ।

 

आजको खेलको विजेताले फाइनल खेलमा आयोजकको सामना गर्नुपर्ने हुन्छ । फाइनल खेल ७ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ र उपविजेताले नगद ५१ हजार १११ सहित ट्रफी पाउने छ ।