दमक । झापाको दमकस्थित बेलडाँगीमा आजदेखि सुरु प्रथम जय हुमागाई मेमोरियल गोल्डकपमा पाहुना टोली सहलेश युवा क्लब सिराहाले विजयी सुरुवात गरेको छ । झापाको बिर्तामोड युनाइटेड एफसीमाथि टाइब्रेकरमा जित दर्ता गर्दै सिराहाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
जय हुमागाइ एण्ड फेमेली ट्रस्टद्वार आयोजित गोल्डकपमा सिराहाले बिर्तामोडमाथि ४-२ गोलअन्तरले टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।
टाइब्रेकरमा बिर्तामोडका दुई खेलाडीको प्रहार बाहिरिएको थियो । जसमा पदम भट्टराई र विक्रम तामाङको प्रहारमात्र गोलमा परिणत भएको थियो भने आशिष चापागाईं र अभिषेक गुरुङको प्रहार बाहिरिएको थियो ।
यस्तै, सिरहाका लागि सिमान्त थापा, अजय मार्टिन, फोडे फोफोना र ऋतिक थापाको प्रहार गोलमा परिणत भएको थियो । खेलको म्यान अफ दी म्याच सिमान्त थापा भए । उनलाई आयोजक समितिका अध्यक्ष शिव हुमागाईले नगद ५ हजार प्रदान गरे ।

भोलि पथरी शनिश्चरे सेटलमेन्ट एफसी मोरङ र शान्तिनगर एफसी सुनसरीबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित ट्रफी पाउने छ ।