दमक । झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा आयोजित प्रथम जय हुमागाईं स्मृति कप फुटबल प्रतियोगिताको उपाधि पाहुना टोली अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब (बीवाईएससी)ले चुमेको छ ।

 

आज भएको फाइनल भिडन्तमा सिराहाको सलहेश युवा कलबलाई १-० गोलले पराजित गर्दै बीवाईएससीले उपाधि रक्षा गरेको हो । उपाधिसँगै बीवाईएससीले नगद ५ लाख र ट्रफी पाएको छ ।

 

उपाधि रक्षाका लागि बीवाईएससीका मिगुएल पलाफक्सले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको ३५औँ मिनेटमा गोल गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार प्राप्त गरे ।

 

८ टिम सहभागी प्रतियोगितामा स्पर्धी सिराहाका आशालाल चौधरी उत्कृष्ठ मिडफिल्डर घोषित भए । यस्तै, सलहेशकै पिटर सेगुनले बेस्ट डिफेन्डरको पुरस्कार पाए । उनीहरुले जनही ७ हजारसहित ट्रफी प्राप्त गरे ।

 

बीवाईएससीका गोलरक्षक पुजन थापामगर उत्कृष्ट गोलरक्षक घोषित हुँदा थोमस बेस्ट फरवार्ड र रेनी सान्टिलान सर्वाधिक गोलकर्ता घोषित भए । उनीहरुले पनि जनही ७ हजार र ट्रफी प्राप्त गरे ।

 

प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका बीवाईएससीका हेक्टोर ओर्टेगाले नगद २५ हजार र ट्रफी पाए । यस्तै, भुटनिज युथ क्लब (बीवाईसी)का धिरज तामाङ उदीयमान खेलाडी घोषित भए । उनले पनि नगद ७ हजार पाए ।

 

प्रतियोगितामा क्यामरुन, भारत, अमेरिकालगायत सुनसरी, झापा, सिराहा र मोरङका टिम सहभागी थिए । स्व. जयनारायण हुमागाई ट्रष्टले आयोजना गरेको प्रतियोगिताको उपविजेताले नगद ३ लाख पाएको छ ।