पोखरा । संकटा फुटबल क्लबले २२औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा स्थान बनाएको छ । साविक विजेता एपीएफ दोस्रो चरणबाट बाहिरिएको छ । यो जितसँगै संकटाले कम्तिमा ६ लाख सुरक्षित गरेको छ ।

 

पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफ क्लबलाई ४-१ गोल अन्तरले हराउँदै संकटा उपाधि नजिक पुगेको हो । संकटालाई जित दिलाउन स्टेफन बिनोङ र मेसुके ओलोमोउले दुई-दुई गोल गरे ।

 

संकटाका स्टेफन बिनोङ म्यान अफ दी म्याच बने । उनले नगद ८ हजार पाएका छन् । अब संकटाले उपाधिका लागि चर्च ब्वाइज युनाईटेड र भुटनीज युथ स्पोर्टस् क्लबबीचको विजेतासँग खेल्नेछ ।

 

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

 

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने आयोजकले जनाएको छ ।

 

प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।