अर्जुनधारा । झापाको अर्जुनधारामा प्रदेशस्तरीय दोस्रो स्व. मंगल मर्डी स्मृति नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । नमुना सन्थाल युवा क्लब अर्जुनधारा ११ को आयोजनामा हुने प्रतियोगितामा १६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।
अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आज भएको भेलामा झापाका १४ वटा र मोरङका २ वटा टिमले सहभागिता जनाउने आयोजक क्लबका अध्यक्ष राम मुर्मुले जानकारी दिए । उनका अनुसार माघ १५ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा सन्थाल समुदायका युवाले मात्र सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगिता सम्पन्न गर्न ३ लाख २० हजार खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार पाउने छ ।
यसैबीच, सन्थाल युवाले अवसर पाएको खण्डमा खेल क्षेत्रमा अब्बल सावित गरेर देखाउने क्लबका सचिव राम किस्कुले बताए । उनले सन्थाल समुदायलाई एक सूत्रमा बाँध्नका लागि पनि प्रतियोगिता आयोजना गरिएको सुनाए ।
छलफलमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले शारीरिकरुपमा मजबुत सन्थाल युवाहरु खेल क्षेत्रमा लागेको खण्डमा उनीहरुको आर्थिक अवस्था पनि सुदृढ हुनसक्ने बताए । उनले परम्परागत जीविकोपार्जनभन्दा माथि उठेर खेल क्षेत्रले समुदायकै जनजीवन परिवर्तन ल्याउनसक्ने सुनाए ।
अर्जुनधारा १० का वडाध्यक्ष भुपेन्द्र न्यौपाने, समाजसेवी जगतबहादुर रानामगर, झापा जिल्ला खेलकुद विकास समितिका सदस्य सुरेन्द्र गिरी, रेफ्री संघका केन्द्रीय सदस्य प्रदिप बस्नेत, समाजसेवी युवा गणेश गिरीलगायतले प्रतियोगिताबारे आफ्ना धारणा राखेका थिए ।