बिर्तामोड । झापाको बिर्तामोडमा तेस्रो मिस्टर ग्यालेक्सी बडिबिल्डिङ च्याम्पियनसिप आउँदो चैतमा हुने भएको छ । बिर्तामोडमा रहेको ग्यालेक्सी फिटनेसले आयोजना गर्ने तेस्रो संस्करणको च्याम्पियन बन्ने खेलाडीले नगद २ लाखसहित ट्रफी प्राप्त गर्नेछ ।

 

आयोजक समितिले आज सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर चैत २४ र २५ गते हुने च्याम्पियनसिपबारे जानकारी दिएको हो । आयोजक समितिका अध्यक्ष दिप साउदेन लिम्बूका अनुसार अघिल्लो संस्करणको पुरस्कार राशिमा शतप्रतिशत बृद्धि गर्दै २ लाख पुराइएको हो । यसअघिको विजेताले नगद १ लाख पाएका थिए ।

 

पाँच वटा तौल समूहमा हुने प्रतिस्पर्धाको विजेताबीच फाइनल राउण्ड हुनेछ । जसमा च्याम्पियन अफ दी च्याम्पियन बन्ने खेलाडीले नगद २ लाख पाउने भएको छ । यसपटक ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

 

च्याम्पियनसिपको उपविजेता बन्ने खेलाडीले नगद १ लाख २५ हजार, तेस्रो हुनेले ७५ हजार, चौथो हुनेले ५० हजार पाँचौ हुने खेलाडीले नगद ३० हजार प्राप्त गर्ने अध्यक्ष लिम्बूले जानकारी दिए । प्रतियाेगितामा प्रदेश १ का १५० जना खेलाडी सहभागी हुने बताइएकाे छ ।

 

यस्तै, तौल समूहमा दोस्रो हुने खेलाडीले १० हजार र तेस्रो हुने खेलाडीले ५ हजार पाउने आयोजकका सचिव केशव श्रेष्ठले जानकारी दिए । उनका अनुसार बेस्ट पोजरले नगद १० हजार पाउने छ भने विजेता तथा उपविजेता खेलाडीलाई गिफ्ट ह्याम्परको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

 

प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक समितिका कोषाध्यक्ष तथा सञ्चालक चन्द्र लाफा रानामगरले बताए । उनका अनुसार फाइनल राउण्डमा महिला बडिबिल्डरबाट डेमोस्ट्रेशन हुने छ ।

 

 

यसैबीच, सुनचाँदी व्यवसायी संघ पाँचथरका अध्यक्ष तथा पाँचथर गहना गृहका सञ्चालक राजेन्द्र कर्माले च्याम्पियन बन्ने खेलाडीको पुरस्कार राशि प्रदान गर्ने घोषणा गरेका छन् । हरेक पटक आयोजना हुने च्याम्पियनसिपमा उनको सहयोग रहँदै आएको बताइएको छ ।

 

कार्यक्रममा सल्लाहकार रतन लिम्बू, संरक्षक तथा सञ्चालकद्वय सन्दिप शेर्मा र ललित धिमालले पनि आफ्ना धारणा राखेका थिए ।