शनिश्चरे । झापाको अर्जुनधारामा प्रदेशस्तरीय दोस्रो स्व मंगल मर्डी स्मृति नकआउट फुटबल प्रतियोगिता आज आइतबारदेखि सुरु भएको छ । नमुना सन्थाल युवा क्लब अर्जुनधारा ११ को आयोजनामा अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आजदेखि सुरु भएको उद्घाटन खेलमा स्थानीय अर्जुनधारा सन्थाल फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
स्पर्धी गरामनी युवा क्लबलाई ३-० गोलले पराजित गर्दै अर्जुनधारा क्वाटरफाइनलमा प्रवेश गरेको हो । अर्जुनधाराको जितमा आशिष किस्कुले खेलको २२औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने खेम मर्डीले २९औँ र दिपक मर्डीले ५६औँ मिनेटमा गोल गरेर क्वाटरफाइनल यात्रा तय गराए ।
खेलको म्यान अफ दी म्याच दिपक मर्डी भए । उनलाई झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले नगद १ हजारसहित ट्रफी प्रदान गरे । सोमबार बिर्तामोड र मोरङको सन्थाल टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा झापाका १४ वटा र मोरङका २ वटा टिमले सहभागिता जनाएका छन् । माघ २८ गते हुने फाइनल खेलको विजेताले ५० हजार र उपविजेताले नगद ३० हजार र ट्रफी पाउनेछ ।
फुटबल प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले गरेकी थिइन् । आयोजक क्लबका अध्यक्ष राम मुर्मुको अध्यक्षतामा आयोजित प्रतियोगितामा सन्थाल समुदायका युवाले मात्र सहभागिता जनाउन पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न ३ लाख २० हजार खर्च हुने अनुमान आयोजकको छ ।

