अर्जुनधारा । शनिश्चरे फुटबल क्लबले आयोजना गरेको यु १८ वडास्तरीय फुटबल प्रतियोगितामा आज अर्जुनधारा ६ र ८ नम्बर वडाले पहिलो सेमिफाइनल खेल खैल्दैछन् ।

 

अर्जुनधारा ७ स्थित अर्जुनधारा खेलमैदानमा ६ र ८ नम्बरको टोली आमने सामने हुँदैछन् । अर्जुनधारा ९ लाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा ६ सेमिफाइनलमा पुग्न सफल भएको थियो ।

 

अर्जुनधारा ८ नम्बर वडाले भने ११ नम्बरलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको थियो । निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरीमा खेल सम्पन्न भएपछि उक्त खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।

 

यसैबीच, बिहीबार सम्पन्न खेलमा अर्जुनधारा ३ लाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै अर्जुनधारा ७ सेमिफाइनलमा पुग्न सफल भएको छ ।

 

निर्धारित समयको खेलमा दुवै टिमबाट १–१ गोल बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । खेलको उत्कृष्ट खेलाडी विजयी टिमका गोलरक्षक लक्ष्मण दर्जीलाई अर्जुनधारा ३ का वडाध्यक्ष सीताराम भट्टराईले एक जोर बुट हस्तान्तरण गरेका थिए ।

 

भोलि अर्जुनधारा ७ ले अर्जुनधारा १ को टोलीसँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ । आफ्नै नगरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजार प्राप्त गर्नेछन् ।