बागमती । सहिद ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड यहाँ जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा पहिलो चरणमै बाहिरिएको छ । सोझै बाइ पाएर क्वाटरफाइनल खेलेको चर्च ब्वाइज सुदूरपश्चिम ११ एफसीसँग सडनडेथमा पराजितहुँदै बाहिरिएको हो ।
चर्च ब्वाइजलाई पहिलो चरणमै रोक्नका लागि सुदूरपश्चिमले सडनडेथमा ७-६ गोलअन्तरको नतिजा निकालेको थियो । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । निर्णयका लागि २० मिनेटको अतिरिक्त समयमा पनि कुनै नतिजा निस्कन सकेन ।
टाइब्रेकरमा पनि समान ४-४ गोलको बराबरी खेलेपछि निर्णय भने सडनडेथबाट निस्किएको हो । सडनडेथमा निर्णायक गोल भने गगनदीप सिंहले गरेका थिए । यसअघि सुदूरपश्चिमका दिपेन्द्र मलासीको प्रहार आकासिएको थियो ।
सुदूरपश्चिमको जितमा सुनिल श्रेष्ठ, फागुराम थारु, ओमप्रकाश चौधरी, कप्तान माधव भण्डारी, माइकल शाही र राहुल खोकरले गोल गरेका थिए भने चर्च ब्वाइजका सविन खड्काको प्रहार बाहिरिँदा कप्तान आशिष चापागाईंको प्रहार सुदूरपश्चिमका गोलरक्षक आकाश बुढाले रोकेका थिए ।
चर्च ब्वाइजका लागि प्रशान्त लक्सम, सुबास गुरुङ, आशिष चौधरी, मनिषकुमार जर्घा, मौसमन सुब्बार एनस मगरको प्रहारमात्र गोलमा परिणत भएको थियो ।
खेलको म्यान अफ दी म्याच सुदूरपश्चिमका गगनदीप सिंह घोषित भए । उनलाई हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले नगद १० हजार र उपहार प्रदान गरे ।
भोलि (मंगलबार) एनजेजेवाईसी एफसी सिमराले संकटा क्लब काठमाडौँसँग तेस्रो क्वाटरफाइनल खेल खेल्नेछ । प्रतियोगितामा भारत र नेपालका १२ टिम सहभागी छन् । बागमती युवा क्लब र बागमती नगर खेलकुद विकास समितिको आयोजनामा भएको राजर्षि जनक कपको सातौँ संस्करण विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले पाँच लाख रुपैयाँ हात पार्नेछ ।
हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष किस्मतराज मैनालीले बताए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने आयोजक बागमती युवा क्बलका एक खेलाडीलाई बागमती राईजिङ अफ दी ईयर प्लेयर्स घोषणासहित एक थान मोटरसाइकल प्रदान गरिने क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।