झापा । प्रथम ‘भद्रपुर झापा गोल्डकप’ नकआउट फूटबल प्रतियोगिता आजबाट शुरु हुँदैछ । प्रतियोगिताको फाइनल खेल फागुन १६ गते हुनेछ । प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले गर्नेछन् ।
उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र जयगाउँ फूटबल क्लब, भारतबीच हुनेछ । दोस्रो खेल फागुन ८ गते चर्च ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबविरुद्ध खेल्नेछ भने फागुन ९ गते पहिलो खेलको विजेतासँग संकटा क्लबले प्रतिस्पर्धा गर्नेछ ।
फागुन १० गते लिग च्याम्पियन टोली मच्छिन्द्र फुटबल क्लबले दोस्रो दिनको विजेतासँग खेल्नेछ भने फागुन ११ गते त्रिभुवन आर्मी फुटबल क्लबका विरुद्ध भुटानको ड्रुक ल्हायुल फुटबल क्लबले खेल्ने तालिका छ ।
फागुन १२ गते एपीएफ फुटबल क्लबले ढाका (बंगलादेश)को काउवार्न बजार प्रगति संघ एफसीका विरुद्ध प्रतिस्पर्धा गर्नेछ । मेची रंगशालामा करिब २० हजार दर्शक क्षमताका लागि बाँसको अस्थायी प्याराफिट पनि निर्माण गरिएको छ ।
पहिलो संस्करणको यस भद्रपुर झापा गोल्डकप प्रतियोगिताको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र फाइनल खेलको पहिलो गोलकर्तालाई नगद २५ हजार प्रदान गर्ने आयोजकले प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।