झापा । शानदार जित दर्ता गर्दै काठमाडौँकोे चर्च ब्वाइज युनाइटेड भद्रपुर झापा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

 

चर्च ब्वाइजको जितका लागि आशिष चौधरीले दुई र गगनदीप सिंहले एक गोल गरे । सिंहले ४०औँ र चौधरीले खेलको ५६औँ र ६०औँ मिनेटमा गोल गरेका हुन् । पुलिसका गोलरक्षकबाट रिबाउन्ड भएको बललाई पेनाल्टी एरियामा रहेका सिंहले गोलमा परिणत गरेका थिए ।

 

खेलको ५६औँ मिनेटमा सुवास गुरुङले गरेको पासमा पेनाल्टी एरियामा रहेका चौधरीले गोलमा परिणत गरेका थिए । लगत्तै ६०औँ मिनेटमा चौधरीले अर्को गोल थपे । मैदानबाट बल अघि बढाउँदै चौधरीले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

 

खेलको अधिकांश समय पुलिस क्लब चर्च ब्वाइजको दबाबमा परेको थियो । खेलभर पुलिसको प्रदर्शन कमजोर देखियो । चर्च ब्वाइजले राम्रो प्रदर्शन गरे पनि अवसरलाई सदुपयोग गर्न सकेन ।

 

खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका आशिष चौधरी घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।

 

 

जितसँगै चर्च ब्वाइजले क्वाटरफाइनलमा बुधबार मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ । मंगलबारको पहिलो क्वाटरफाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र संकटाबीच हुने छ ।

 

भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउँदा उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५-२५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।