झापा । पाहुना टोली बंगलादेशको काउवार्न बजार प्रगति संघ, ढाकालाई सडनडेथमा रोक्दै सशस्त्र प्रहरी बलको एपीएफ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यो खेलसँगै सेमी समिकरण पनि पूरा भएको छ ।
शुक्रबार भएको अन्तिम क्वाटरफाइनल खेलमा विभागीय टिम एपीएफ एफसीले बंगलादेशलाई सडनडेथमा ९-८ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । जितसँगै एपिएफले फाइनल प्रवेशका लागि मछिन्द्र क्लबसँग आइतबार खेल्नेछ ।
निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले १-१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि निर्णय हुन नसक्दा सडनडेथबाट निर्णय लिइएको थियो । सडनडेथमा बंगलादेशका औङ गोल गर्न चुकेपछि पराजय व्यहोर्नुप¥यो । उनको प्रहारलाई एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाएका थिए ।
खेलमा सुरुवाती अग्रता भने बंगलादेशले लिएको थियो । खेलको २१औँ मिनेटमा बंगलादेशका साएरले गोल गरेका थिए । उनले पेनाल्टी एरियाबाट गरेको प्रहारले जाली चुमेको थियो ।

दोस्रो हाफपछि एीिएफ आक्रामक बन्यो । ७२औँ मिनेटमा युवराज खड्काले गोल गर्दै खेललाई बराबरीमा फर्काए । बंगलादेशका गोलरक्षक कोबिजबाट रिवाउन्स भएको बललाई उनले गोलमा परिणत गरेका हुन् ।
शुक्रबारको खेलको प्लेयर अफ द म्याच एपीएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।
शनिबारको पहिलो सेमिफाइनल खेल संकटा क्लब काठमाडौँ र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने छ ।

प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई जनही २५-२५ हजार दिइने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।
हेर्नुहाेस्, पेनाल्टी सुट…





