काठमाडौं । नवप्रवेशी एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ मा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले हराउँदै खुमलटारले सुखद सुरुआत गरेको हो ।

 

खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गरे । उनी म्यान अफ द म्याच चुनिए । तर, फ्रेन्ड्सविरुद्ध जित निकाल्दा खुमलटारलाई ८९औं मिनेटसम्म कुर्नु पर्यो । जया गुरुङको पासमा ओलुमोउले उत्कृष्ट गोल गरे ।

 

त्यसअघि दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । खेलको १८औं मिनेटमा श्याम बाबु क्यापछाकीको क्रसमा फ्रेन्ड्सका उत्तम राईले पोस्ट नजिकबाट बाहिर प्रहार गरे । खेलको ७२औं मिनेटमा १८ यार्ड नजिकबाट खुमलटारका स्टेफन समिरको फ्रिकिक पोस्ट बारमा लागेर फर्किएको थियो ।

 

७५औं मिनेटमा खुमलटारका मेसुके ओलुमोउको डिबक्स भित्रको हेडर फ्रेन्ड्सका गोलकिपर राजा बाबु थापाले मुश्किलले बचाए । ८०औं मिनेटमा फ्रेन्ड्सका लक्ष्मण रुचालको फ्रिकिकमा उत्तम राईको हेडर पोस्ट नजिकबाट बाहिरिएको थियो ।

 

जितसँगै खुमलटारले पहिलो खेलमा ३ अंक जोडेको छ । फ्रेन्ड्सले हारबाट लिगको सुरुआत गरेको छ ।