धनगढी । आयोजक सुदूरपश्चिम ११ छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ४-० गोल अन्तरले हराउँदै सुदूरपश्चिमले अन्तिम चारमा स्थान बनाएको हो ।

 

सुदूरपश्चिम ११ लाई जित दिलाउन आयुष श्रेष्ठले ह्याट्रिक गोल गरे । सुदूरपश्चिम ११ का लागि सुरुआती पाचौं मिनेटमै स्वामी हार्दिकले पहिलो गोल गरेका थिए ।

 

खेलको ३०औं मिनेटमा आयुषले आफ्नो व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरे । उनले दोस्रो हाफमा ५१औं र ६३औं मिनेटमा गोल गर्दै यो संस्करणकै पहिलो ह्याट्रिक गरे । उनले खेलकै ‘एसपीए म्यान अफ दि म्याच’ भएर नगद दश हजार जिते ।

 

नेपाल पुलिसका खेलाडीले आजको खेलमा थुप्रै अवसरहरु पाए पनि गोल गर्न सकेनन् । जितसँगै सुदूरपश्चिम ११ ले सेमिफाइनलमा स्थान बनाएको छ । अब सुदूरपश्चिमले थ्री स्टारसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल चैत १६ गते हुनेछ ।

 

प्रतियोगिता अन्तरगत बुधबार मनाङ मस्र्याङ्दी र क्यामरुनको एभिनर फुटबल क्लबले पहिलो सेमिफाइनल प्रतिस्पर्धा गर्नेछन् । खेल दिउसो ३ः३० बजे सुरु हुनेछ ।

 

मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

 

प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।