धनगढी । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा फाइनल पुगेका दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार प्रिम्याच प्रेस कन्फरेन्समा बोल्दै दुवै टिमका कप्तानले छैटौं संस्करणको उपाधि आफ्नो टिमले जित्ने दाबी गरे ।
शनिबार धनगढी रंगशालामा उपाधिका लागि उत्रन लागेका थ्री स्टारका कप्तान विक्रम लामाले सेमिफाइनलमा रातो कार्ड खाएका मिडफिल्डर दिपेश गुरुङको अनुपस्थितिले क्लबको प्रदर्शनमा कुनै असर नपार्ने बताए ।
उनले आफुहरुसँग सन्तुलित टिम रहेको उल्लेख गर्दै उपाधिमा आफ्नो स्वभाविक दाबी रहने उल्लेख गरे । फाइनल खेलमा आफ्नो भूमिकाबारे बोल्दै उनले भने, ‘भोलि रणनीति अनुसार मेरो भूमिका रहनेछ । प्रशिक्षक मेघराज केसीले जुन भूमिकामा खेलाउँछन् । म तयार रहेको छु ।’
उनले खेलाडीको रिकभरी समय कम भएकाले फिटनेसमा असर पारेको बताए । तर, फाइनल खेलका लागि टिम मानसिकरुपमा तयार रहेको उनको भनाइ छ । ‘एन्फाले खेल तालिकालाई ब्यवस्थित बनाएको भए मोफसलमा फुटबल कार्यक्रम गरिरहेका आयोजकले गरेको मेहनतले फुटबलमा राम्रो योगदान गर्ने थियो’, उनले भने, ‘तेस्रो पटक खप्तड गोल्डकपको फाइनल खेल्दै गर्दा पहिलोपटक उपाधि जित्न चाहन्छौं । मोफसलको गोल्डकपले टिमलाई सेट हुन अवसर दिएको छ ।’
मनाङका कप्तान जीवन गुरुङले खप्तड गोल्डकपको उपाधि रक्षा गर्न आफूहरु तयार रहेको बताए । टिमको अवस्थाबारे जानकारी दिँदै उनले भने, ‘विदेशी फरवार्ड कोफी तिमोती कुवडु भोलि खेल्नेछन् । विदेशी खेलाडीमा डियाग उत्कृष्ट छन् । उनको प्रर्दशनले टिमलाई धेरै सहज भएको छ ।’ गुरुङले थपे, ‘मनाङ जस्तो क्लबलाई नेतृत्व गर्न पाउँदा गर्व महशुश गरेको छु । तेस्रोपटक खप्तड गोल्डकपको उपाधि जित्ने पक्का हो ।’
सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा चैत ९ गतेबाट सुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा ‘ए’ डिभिजन ६ टीम, दुई विदेशी टिम, मोससलको बागमती युथ क्लब र आयोजक क्लब गरी १० टोलीको सहभागी थिए ।