बिर्तामोड । झापाको चारपानेमा भोलि चैत २१ गते हुने सहारा हाफ म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका अनुसार खुला महिला तथा पुरुष हाफ म्यारथनमा पाँच सय धावकको सहभागिता रहनेछ ।

 

आयोजकले प्रस्थान विन्दुमा गेट निर्माण गरिसकेको छ भने ट्र्याक निर्माण गरेर दौडने बाटो नापिसकेको जनाएको छ । त्यस्तै, प्रतियोगिताका लागि ५० जना प्राविधिक स्वयमसेवक तयारी अवस्थामा रहेको प्रमुख निर्णायक लोकप्रसाद ओलीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न ३० जना रेफ्री तथा निर्णायकको तालिम पनि सम्पन्न भइसकेको नेपाल एथलेटिक्स संघका केन्द्रीय उपाध्यक्ष कुमार श्रेष्ठले बताए ।

 

नेपाल एथलेटिक्स संघबाट मान्यताप्राप्त सहारा हाफ म्याराथन झापामा पहिलोपटक हुन लागेको हो । नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था सहारा नेपाल साकोसले आफ्नो २८औँ स्थापना दिवसको अवसरमा पारेर हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको हो ।

 

झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा संस्थाको अतिरिक्त क्रियाकलाप उपसमितिले प्रतियोगिता आयोजना गरेको हो । संस्थाको मुल कार्यालयबाट सुरु भएको प्रतियोगिता चारपानेचोक-प्रभुचोक-सांगवेद स्कुल-ओमचोक-कुशलचोक-अर्जुनधाराधाम-वरपीपलचोक-मिलडाँडा-प्रगतिटोल-भाङबारी-तामाङचोक-रातेखाल-बिरिङ खोलाको कज्वे-पानीकल-लक्ष्मीपुर हुँदै सहारा साकोस शिक्षा सदनमा आएर टुंगिनेछ ।

 

प्रतियोगितामा महिला र पुरुषको अलगअलग विधा हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार, दोस्रोलाई नगद ३१ हजार र तेस्रो हुनेलाई नगद २१ हजार रुपैयाँ प्रदान गरिने संस्थाका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए । त्यस्तै, चौथोदेखि दशौँसम्म हुनेलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा १८ वर्षभन्दा माथिका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।

 

यसैबीच, सहारा हाफ म्याराथनको महिलातर्फ झापामा दौडिन १३औँ दक्षिण एसियाली खेलकुद (साग) की रजत पदक विजेता पुष्पा भण्डारी आउने भएकी छन् । त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद पोखराको महिलातर्फ म्याराथनकी स्वर्णधारी बिन्द्रा श्रेष्ठले पनि सहारा हाफ म्याराथनमा भाग लिनेछिन् ।

 

भण्डारीले प्रथम बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जित्दै १३औँ सागको टाइमिङ तोडेकी थिइन् । उनले सागमा राखेको २ घण्टा ५० मिनेट ११ सेकेन्डको राष्ट्रिय कीर्तिमानलाई २ मिनेट ९ सेकेन्डले सुधार गरेकी हुन् । उनले सन् २०२२ को सोही म्याराथनमा भने कास्य पदक जितेकी थिइन् ।

 

श्रेष्ठले पोखरामा २ घण्टा ५७ मिनेट २३ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारेकी थिइन् । बिन्द्रा सो बेला पहिलोपटक राष्ट्रिय खेलकुदको म्याराथनमा सहभागी भएकी थिइन् ।

 

लामो समयदेखि ट्र्याक एन्ड फिल्डमा सक्रिय रहेकी बिन्द्राकी ९ वर्षीय छोरीसमेत छिन् । उनी बंगबन्धुमा तेस्रो भएकी थिइन् । प्रतियोगितामा भेट्रान्स कीर्तिमानी धावक धर्म महर्जन पनि सहभागी हुने भएका छन् । ५० वर्षीय उनी हाफ म्याराथनमा सहभागी हुने भएका हुन् ।

 

यस्तै, सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, ओलम्पियनहरु रघुराज वन्त, डम्बर कँवर, मेनुका राउत र भेट्रान्स धावक बुद्धवीर लामा आउने भएका छन् ।