इलाम । घरेलु टिम देउराली स्पोर्टिङ क्लबलाई हराउँदै दमक फुटबल एकाडेमी तेश्रो सन्दकपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक देउरालीलाई टाइब्रेकरमा पराजित गर्दै दमकले अन्तिम चारमा स्थान बनाएको हो ।
टाइब्रेकरमा ४-२ गोल अन्तरले हराउँदै दमकले सेमिफाइनल यात्रा तय गरेको हो । निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१औँ मिनेटमा दमकले पेनाल्टीमार्फत सुरुवाती अग्रता बनाउन सफल रह्यो । दमकका लागि रोशन तामाङले गोल गरेका हुन् ।
तर, ७६औँ मिनेटमा विनोद धमलाले बराबरी गोल फर्काए । खेलको म्यान अफ दि म्याच दमकका समिर लिम्बू घोषितहुँदै नगद २ हजार प्राप्त गरे । प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा नवप्रयास युवा क्लब ताप्लेजुङ र बिर्तामोड युनाइटेड एफसी झापाबीच प्रतिस्पर्धा हुनेछ ।

वैशाख १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले विजेताले नगद १ लाख ५१ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ । उपविजेताले नगद ८१ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले जनही ४-४ हजार पाउनेछन् ।